विराटनगर । विश्व आदिवासी दिवसका अवसरमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक विविधतालाई समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।
आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, कला र मौलिक पहिचानको संरक्षणसँगै उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन्।
मुख्यमन्त्री कार्कीले दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा आदिवासी जनजाति समुदायले नेपालको सामाजिक तथा सांस्कृतिक पहिचान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
उनले संविधानले सुनिश्चित गरेको समानता, सामाजिक न्याय, समावेशिता तथा सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारले विभिन्न नीति, कार्यक्रम तथा योजनामार्फत काम गरिरहेको बताएका छन्।
