Lite Nepal

सोमबार, साउन २५, २०८३

झापा । झापाका १५ वटै स्थानीय तहले आगामी आर्थिक वर्षभित्र स्थानीय दलित अधिकार ऐन निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

कोशी प्रदेश सरकारले पनि दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइरहेका बेला झापाका स्थानीय तहले छुट्टै कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका हुन्।

मानवअधिकार मञ्च नेपाल इलामको आयोजना तथा जिल्ला समन्वय समिति झापाको सहकार्यमा बिर्तामोडमा आइतबार सम्पन्न दुईदिने कार्यशालाले पारित गरेको ‘१० बुँदे झापा घोषणापत्र–२०८३’ मार्फत जिल्लाका १५ वटै पालिकाले आगामी आर्थिक वर्षभित्र सम्बन्धित पालिकाको सभाबाट स्थानीय दलित अधिकार ऐन पारित गर्ने प्रतिबद्धता जनाएका हुन्। ऐनमार्फत दलित अधिकार समिति गठन गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा दलित समुदायको जनसाङ्ख्यिक, सामाजिक तथा आर्थिक ‘प्रोफाइल’ तयार गरी त्यसका आधारमा नीति, योजना र बजेट निर्माण गर्ने तथा पाँचवर्षे दलित विकास रणनीतिक योजना कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

त्यस्तै, जातीय विभेद तथा छुवाछूतमुक्त वडा र पालिका घोषणा गर्न अभियान सञ्चालन गर्ने, दलित उत्तरदायी बजेटको व्यवस्था गर्ने तथा दलित समुदायका परम्परागत सीप र पेसालाई व्यवसायीकरण गर्ने विषय घोषणापत्रमा समेटिएका छन्।

कार्यशालाको समापनमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले आगामी अधिवेशनबाट दलित सशक्तीकरणसम्बन्धी विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइने बताए।

विधेयकमाथि दफावार छलफल सम्पन्न भइसकेकाले अब पारित गर्ने चरणमा पुगेको उनको भनाइ छ। “दलित सशक्तीकरण विधेयकमाथि दफावार छलफल सकिसकेका छौँ। अब यो पारित हुने चरणमा पुगेको छ,” राज्यमन्त्री गौतमले भने, “आगामी अधिवेशनबाट विधेयक पारित गर्ने गरी प्रक्रिया अघि बढ्छ।”

कोशी प्रदेशमा दलित सशक्तीकरणसम्बन्धी कानुन निर्माणको गृहकार्य २०७६ सालदेखि सुरु भएको थियो। लामो समयसम्म प्रक्रिया अघि बढ्न नसकेको भन्दै दलित अधिकारकर्मीले प्रश्न उठाउँदै आएका थिए। राज्यमन्त्री गौतमले सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक भएकाले प्रक्रिया लम्बिएको बताए।

मानवअधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले अन्य प्रदेशमा दलित सशक्तीकरणसम्बन्धी ऐन कार्यान्वयनमा आइसकेकाले कोशी प्रदेशमा पनि विधेयक शीघ्र पारित गर्नुपर्ने बताए।

कार्यशालामा झापाका १५ वटै पालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन, राजनीतिक दल, मानवअधिकारकर्मीलगायतको सहभागिता थियो।

मानवअधिकार मञ्च नेपाल इलामका अध्यक्ष मोहनसिंह थेवेले मञ्चको कार्यक्षेत्र झापासहित इलाम, पाँचथर र ताप्लेजुङ रहेको जानकारी दिँदै क्रमशः ती जिल्लामा पनि यस्तै कार्यशाला सञ्चालन गरिने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं