काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले प्रधानमन्त्री बालेन्द्र शाहको चस्मा र पहिरनको विषयमा बहस नगरी सरकारका काम र नीतिमा केन्द्रित हुन संसद्मा आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कर्णले प्रधानमन्त्रीले कालो चस्मा र कालो ड्रेस लगाएको विषयमा बहस गर्नुभन्दा निर्वाचन क्षेत्रमा लैजानुपर्ने विकासका कार्यक्रम, रोजगारी सिर्जना तथा सुशासनका विषयमा छलफल गर्नुपर्ने बताए।
स्थानीय तहमा देखिएको विकृति र भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक कानुन निर्माण तथा सुधारका विषयमा संसद्मा बहस हुनुपर्ने उनको भनाइ थियो। विगतका सरकारका पालामा सत्तारूढ दलका शीर्ष नेताका निर्वाचन क्षेत्रमा मात्रै विकास बजेट केन्द्रित हुने गरेको भन्दै उनले त्यसबारे सदनमा आवाज उठ्ने गरेको स्मरण गरे।
अहिले भने निर्वाचन क्षेत्रमा बजेट नपरेको विषयमा सरकारको आलोचना नसुनिएको उनले बताए। सरकारले सुशासनसहित दिगो विकासतर्फ देशलाई अघि बढाएको दाबी गर्दै कर्णले संसद्को बहस व्यक्तिकेन्द्रित नभई एजेन्डाकेन्द्रित हुनुपर्नेमा जोड दिए। ‘ये पब्लिक है, सब जानती है’ भन्दै उनले सांसदहरूलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा बहस केन्द्रित गर्न आग्रह गरे।