विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरुले आज सामुहिक राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुलाई राजीनामा दिन दलले निर्देशन दिएको छ । सोही अनुसार कांग्रेसरका मन्त्रहरू आज सरकारबाट बाहिरिँदै छन् ।
यसैबिच कांग्रेसका मन्त्रीहरूलाई धन्यवाद दिंदै बिदाइ गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो ३ः ३० बजेका लागि मुख्यमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
कार्की नेतृत्वको सरकारमा कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्री सहभागी छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाकार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङ सरकारमा सहभागी छन् ।
कांग्रेसका मन्त्रीले राजीनामा दिएसँगै अब मुख्यमन्त्री कार्कीकै नेतृत्वमा नेकपा सहभागी भएर सरकार विस्तार हुनेछ ।