काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै प्रहरी महानिरीक्षक ९आईजीपी० को निवासमा भएको भनिएको चोरीको घटनासमेत छानबिनको दायरामा ल्याउन माग गरेका छन्।
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धबारे गम्भीर प्रश्न उठाए।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमान्डर र लेखापालहरूले गर्ने खरिद प्रक्रियामा पारदर्शिता नभएको तथा प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीसँग कारोबार गरिरहेको उनले दाबी गरे।
सांसद सुनारले प्रहरी महानिरीक्षकको निवासबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाए। प्रहरीका लागि आवश्यक जुत्ता तथा लाठी (भाटा) खरिदमा समेत ठूलो अनियमितता भएको उनको जिकिर थियो।
छानबिन प्रक्रियालाई निष्पक्ष बनाउन वर्तमान गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने वा उनीहरूलाई निलम्बन गर्नुपर्ने मागसमेत उनले राखे।
उनले भने, ‘आईजीपीको घरमा चोरी भएको हो कि होइन रु यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ । भाटा खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण छ । विपन्न वर्गका छोराछोरी प्रहरीमा भर्ना भएर देशको सेवा गरिरहेका छन्, तर उनीहरूले प्रयोग गर्ने सामग्रीको खरिदमा माथिल्लो निकायबाट ब्रह्मलुट भइरहेको छ । बर्दी लगाएर वा पदमा बसेर आफूमाथिको छानबिनलाई प्रभावित पार्न पाइँदैन । सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अगाडि बढाउनुपर्छ ।’
सांसद सुनारले यस विषयमा तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न समितिका सभापतिलाई आग्रह गरे। आफू विगत १८ वर्षदेखि सुरक्षा बिटमा पत्रकारिता गरेको अनुभव रहेको उल्लेख गर्दै उनले ठेकेदार र प्रहरी अधिकारीहरूको कल डिटेल तथा मोबाइल नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
भ्रष्टाचारका ठूला काण्डलाई सामसुम पार्ने प्रवृत्तिको अन्त्य गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने उनको भनाइ थियो।