काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीभित्रको असहमति अन्त्य गर्दै राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन्।
करिब साढे पाँच महिनापछि काठमाडौँ आइपुगेका देउवाले आफू व्यक्तिगत राजनीतिक शक्ति आर्जन गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भावनाका साथ सक्रिय हुन स्वदेश फर्किएको बताएका छन्।
उनले नेपाली काँग्रेसले पार्टीभित्रको एकता कायम गर्दै मुलुकका अन्य राजनीतिक शक्तिसँग समेत सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएका मतभेद र निराशालाई लामो समयसम्म कायम राख्न नहुने भन्दै उनले त्यसको समाधान तत्काल खोज्नुपर्ने धारणा राखेका छन्।
देउवाले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दलभित्रको विवादले मुलुकको राष्ट्रिय हित र एकतामा समेत असर पार्न सक्ने बताएका छन्। त्यसैले काँग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातासहित आम नागरिकलाई सामूहिक भावना र त्यागको राजनीतिक संस्कारका साथ अघि बढ्न उनले आग्रह गरेका छन्।
काँग्रेसको आगामी यात्रा कुनै व्यक्तिको व्यक्तिगत चाहना वा अहंकारमा आधारित हुन नहुने उल्लेख गर्दै देउवाले जनताको हितलाई राजनीतिक निर्णयको केन्द्रमा राख्नुपर्ने बताएका छन्। सत्ता प्राप्तिलाई आफ्नो सक्रियताको उद्देश्य नबनाई राष्ट्रिय एकता मजबुत बनाउने विषयलाई प्राथमिकता दिएको उनको भनाइ छ।
देउवाले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रसंगसमेत स्मरण गरेका छन्। वर्तमान परिस्थितिमा पनि मुलुकलाई राजनीतिक दलहरूबीचको सहकार्य र व्यापक राष्ट्रिय एकताको आवश्यकता रहेको उनले बताएका छन्।
स्वदेश फर्किनुलाई उनले आफूलाई केवल राजनीतिक नेताका रूपमा नभई राष्ट्रको दीर्घकालीन हितप्रति जिम्मेवार नागरिकका रूपमा सक्रिय हुने अवसरका रूपमा प्रस्तुत गरेका छन्। राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर कायम रहने उनले स्पष्ट पारेका छन्।

