काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता–कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो।
गत माघमा भएको कांग्रेसको विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएका सभापति शेरबहादुर देउवा तथा डा। शशांक कोइराला पक्षका नेता–कार्यकर्ता भेलामा सहभागी छन्।
भेलामा पार्टीको पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे छलफल तथा धारणा आदानप्रदान हुने जनाइएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाले भेलालाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।
जेन–जी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उपचारका लागि सिंगापुर गएका देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किएका थिए। स्वदेश फर्किएपछि उनका समर्थक नेता–कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
राष्ट्रिय भेलाको बन्द सत्र साउन ३० र ३१ गते सञ्चालन हुने आयोजक पक्षले जनाएको छ। बन्द सत्रमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक विषय तथा विशेष महाधिवेशनसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।