काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँसमक्ष सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले शपथ लिएका हुन्। आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बमले शपथ लिएकी छन्।
यसअघि नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेशसभा संसदीय दलका नेता भट्ट नेकपा एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिअनुसार दुई दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेश प्रमुख मियाँले शुक्रबार भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। यसअघि बिहीबार नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।