Lite Nepal

शनिबार, साउन ३०, २०८३

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्।

राजमार्गमा हुने दुर्घटना र घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै मन्त्री मेहताले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, भवन निर्माण तथा विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिटमार्फत सेवा सञ्चालन गर्न लागिएको जानकारी दिइन्।

उनका अनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सक पठाइसकेको छ। सिटी स्क्यान मेसिन उपलब्ध भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भएको भन्दै उनले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञसहितको टोली व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने बताइन्।

मन्त्री मेहताले लहान राजमार्गमा अवस्थित हुनुका साथै सिटी स्क्यान, ब्लड बैंक र आँखा अस्पतालजस्ता पूर्वाधार उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्न सकिने बताइन्।

स्वास्थ्य बीमाबारे उनले कार्यक्रम पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारिन्। निजी अस्पतालमा मात्र बीमा सेवा रोकिएको र सरकारी अस्पतालमा सेवा यथावत् रहेको जानकारी दिँदै उनले बीमाका केही प्याकेज अवैज्ञानिक रहेकाले पुनरावलोकन भइरहेको बताइन्। उनका अनुसार विगतको १८ अर्ब रुपैयाँ बक्यौतामध्ये फागुनसम्मको भुक्तानी भइसकेको छ।

तराई क्षेत्रमा देखिएको ‘एन्टी स्नेक भेनम’ अभावबारे मन्त्री मेहताले काठमाडौँमा ८ हजार ५ सय भायल औषधि आइपुगेको र आइतबारदेखि देशका विभिन्न भागमा वितरण सुरु हुने बताइन्। केही अस्पताल तथा सैनिक क्याम्पमा मौज्दात कमी भए पनि औषधिको पूर्ण अभाव हुन नदिने उनले स्पष्ट पारिन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं