Lite Nepal

आइतबार, साउन ३१, २०८३

इलाम । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाउँदै विधि, विधान र प्रक्रियाविपरीत गतिविधि गर्नेलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिएका छन्।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेको चर्चा र हस्ताक्षर अभियानलाई अराजकताको पराकाष्ठा भएको बताए।

पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै अध्यक्ष हटाउने कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै उनले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चिया पसलमा बसेर हटाउने कुरा गर्नु पार्टीको विधि र प्रक्रियाविपरीत हुने बताए।

‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ,’ ओलीले भने, ‘अध्यक्ष हटाउने विषयमा जथाभावी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रियाविपरीत हो।’

बाह्य शक्तिहरूबाट पार्टीमाथि तीव्र प्रहार भइरहेका बेला आन्तरिक विवादमा अल्झिनु आत्मघाती हुने ओलीको भनाइ छ। आगामी केन्द्रीय कमिटी बैठकपछि पार्टीलाई थप दृढ अनुशासनका साथ अघि बढाइने उनले बताए। सामाजिक सञ्जालमार्फत पार्टीको बदनामी गर्ने गतिविधि रोक्नसमेत उनले निर्देशन दिए।

यसैबीच ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण मुलुक बर्बादीतर्फ उन्मुख भएको दाबी गरे। प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन सञ्चालनका लागि आवश्यक न्यूनतम दक्षतासमेत नरहेको आरोप लगाए।

खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएका शक्तिहरूले राज्य सञ्चालनको प्रक्रिया नबुझेको र अपेक्षित परिणाम दिन नसकेको ओलीको टिप्पणी थियो। नाच्न र मादल बजाउन नजान्नेलाई त्यही जिम्मेवारी दिँदा आउने परिणामसँग वर्तमान सरकारको अवस्था तुलना गर्दै उनले अनुभवहीन नेतृत्वका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको आरोप लगाए।

ओलीले समय बाँकी हुँदै प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढङ्गले निर्वाचनको नाटक गरिएको दाबीसमेत गरे। संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिँदै उनले मुलुकलाई राजनीतिक स्थिरता र संवैधानिक प्रक्रियातर्फ लैजानुपर्ने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं