काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी स्थापनादेखि निरन्तर संगठनमा सक्रिय रहेकालाई प्राथमिकता दिने संकेत गरेको छ। सभापति रवि लामिछानेले पार्टीको सुरुवाती चरणदेखि जिम्मेवारी सम्हाल्दै आएका कार्यकर्ताको उम्मेदवार बन्ने सम्भावना तुलनात्मक रूपमा बढी हुने बताएका छन्।
‘गाउँपालिका क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने क्रममा लामिछानेले पार्टी निर्माणको प्रारम्भिक अवस्थादेखि निरन्तर खटिएका व्यक्तिको योगदानलाई उम्मेदवार छनोटमा महत्व दिइने बताएका हुन्।
उनका अनुसार पार्टी स्थापना भएपछि संगठन विस्तारका क्रममा सक्रिय रहेका र विभिन्न कठिनाइबीच पार्टीका पक्षमा काम गरेका व्यक्तिले स्थानीय निर्वाचनमा प्रतिस्पर्धाका लागि सहज आधार पाउनेछन्। पार्टीका लागि काम गर्दा कानुनी झमेला, आलोचना तथा अन्य दबाब सामना गरेका कार्यकर्ताको योगदानलाई नेतृत्वले बेवास्ता नगर्ने उनले बताए।
यद्यपि, पार्टीमा नयाँ तथा सक्षम व्यक्ति प्रवेश गरेमा उनीहरूलाई पनि उम्मेदवार बन्ने अवसर खुला रहने लामिछानेको भनाइ छ। योग्यता र क्षमताका आधारमा नयाँ व्यक्ति उपयुक्त देखिएमा लामो समयदेखि पार्टीमा काम गरिरहेका व्यक्तिले पनि त्यस्ता उम्मेदवारका लागि स्थान छाड्नुपर्ने उनले बताए।
रास्वपाले सक्षम नयाँ व्यक्तिलाई पार्टीमा प्रवेश गरी उम्मेदवार बन्न सक्ने व्यवस्था कायम राख्ने जनाएको छ। लामिछानेले सक्षम नयाँ अनुहार आउने सम्भावनालाई ध्यानमा राखेर केही व्यक्तिले पार्टी प्रवेशमा ढिलाइ गरिरहेको अवस्था रहेको उल्लेख गर्दै ‘क्यान्डिडेट क्लब’ को व्यवस्थाले त्यस्तो अवस्थालाई सम्बोधन गर्ने दाबी गरे।
रास्वपाले स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन मागेको छ। पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य पदका लागि आवेदन खुला गरिएको हो।
पार्टीको आह्वानअनुसार ४६० गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार छनोट गरिनेछ। त्यस्तै, ३ हजार ६८५ वडाध्यक्ष र १४ हजार ७४० वडा सदस्य पदका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरिएको छ।
यस प्रक्रियामार्फत स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटलाई संस्थागत बनाउने तथा पार्टीभित्रको निरन्तर सक्रियता र नयाँ क्षमतालाई सँगसँगै मूल्यांकन गर्ने रास्वपाको तयारी देखिएको छ।