विराटनगर । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादा र गरिमा कायम राख्न निर्देशन दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गर्न उठेपछि सभामुख अर्यालले सांसद तामाङलाई यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले थप प्रश्न गर्न समय मागेकी थिइन् ।
तर, सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए । सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गरे पनि सांसद तामाङले प्रश्न गर्न पाउनुपर्ने अडान राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए । सभामुखले बोल्न समय नदिएपछि र थप स्पष्टीकरणको अवसर नपाएपछि सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी हुन्।