विराटनगर । नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। संसदीय दलको बैठकले गरेको निर्णयअनुसार काँग्रेस अब कोसी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने भएको छ।
संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा सचिवालयलाई पठाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँदै प्रतिपक्षमा रहेर रचनात्मक तथा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरेका छन्।
पत्रमा लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था, प्रदेशसभाको मर्यादा तथा जनताको जनादेश लाई उच्च सम्मान गर्दै प्रमुख प्रतिपक्षी दलको जिम्मेवार, रचनात्मक र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
काँग्रेसले सरकारका सकारात्मक काममा रचनात्मक सहयोग गर्ने जनाएको छ। साथै, सरकारका गलत निर्णय, जनविरोधी गतिविधि तथा संवैधानिक र कानुनी व्यवस्था विपरीतका कार्यको प्रभावकारी रूपमा खबरदारी गर्ने जनाएको छ।
पछिल्लो समय कोसी प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै काँग्रेस र नेकपा एमालेबिचको सहकार्य टुटेको थियो। हाल कोसी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच सत्ता समीकरण रहेको छ।
