Lite Nepal

बिहिबार, भाद्र ०४, २०८३
फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले यसको संस्थागत भूमिका, मर्यादा र स्वतन्त्रतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने बताए।

उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको घटनालाई पनि प्रश्नको विषय बनाए। अख्तियार प्रधानमन्त्री कार्यालयअन्तर्गतको संरचना नभई संवैधानिक आयोग भएकाले यसको संस्थागत स्वायत्तता र मर्यादालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।

गत असारको पहिलो साता अख्तियारका सबै पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर यसअघि पनि प्रश्न उठेको थियो। त्यस क्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सहयोगीहरूले अख्तियारका पदाधिकारीलाई लामो समय कार्यालयमा राखेर सोधपुछ गरेको दाबी सार्वजनिक भएपछि आयोगको स्वतन्त्रताबारे बहस भएको थियो।

सोही घटनाको सन्दर्भ उल्लेख गर्दै सांसद सिंहले अख्तियारमाथि कार्यपालिकाको प्रभावको आशंका उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए। उनले सरकार तथा सम्बन्धित निकायलाई आयोगको संवैधानिक भूमिका र संस्थागत स्वायत्तता कायम राख्न ध्यान दिन आग्रह गरे।

सरकारका कामकारबाहीमा निगरानी, नियन्त्रण तथा सन्तुलन कायम गर्न संवैधानिक रूपमा स्थापित अख्तियारजस्ता निकायको संस्थागत स्वायत्तता अपरिहार्य रहेको सिंहको जोड थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं