काठमाडौँ ।नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी अघि बढाइएको प्रक्रिया तत्काल रोक्न न्यायिक बाटो रोज्ने निर्णय गरेको छ।
डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार भएको संस्थापन इतर पक्षका नेताहरूको छलफलले महाधिवेशन प्रक्रिया स्थगनको माग गर्दै अदालत जाने निष्कर्ष निकालेको हो।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका प्रक्रिया अघि बढाउनु उचित नहुने संस्थापन इतर समूहको धारणा छ। यही आधारमा पार्टीले अघि बढाएको निर्वाचन तथा अधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गर्दै अदालत जाने तयारी गरिएको हो।
यता, कांग्रेसले भने निर्धारित कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। केन्द्रीय निर्वाचन समितिले पछिल्लो पटक सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा तहको अधिवेशन आगामी भदौ २४ गते गर्ने तयारी छ।
कांग्रेसले यसअघि तय गरेको १५औँ महाधिवेशनको मूल मिति भने परिवर्तन गरेको छैन। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय यथावत् राख्दै तल्लो तहका अधिवेशनको तालिका मात्र परिमार्जन गरिएको छ।
यससँगै कांग्रेसभित्रको आन्तरिक विवाद महाधिवेशन प्रक्रियासँगै अदालतमा विचाराधीन पार्टीको आधिकारिकतासम्बन्धी विषयसँग समेत जोडिएको छ।