काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याणलगायत आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने विषयमा दुवै पक्षले जोड दिएका छन्।
मन्त्री खनालले साउदी अरबमा कार्यरत केही नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएको रिपोर्टप्रति चासो व्यक्त गर्दै आवश्यक ध्यान दिन साउदी पक्षलाई आग्रह गरेका छन्। साथै, साउदी अरबमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन साउदी अधिकारीहरूले गर्दै आएको सहयोगप्रति उनले धन्यवाद दिएका छन्।
भेटमा लगानी, पर्यटन, हवाई सम्पर्क, श्रम गतिशीलता तथा नेपाली श्रमिकको कल्याणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। नेपाल र साउदी अरबबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।