विराटनगर । कोशी प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत मागे। विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा मुख्यमन्त्री कार्कीसहित नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताले आ–आफ्नो धारणा राखेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको स्थायित्वका लागि सबै दलका सांसदलाई आफूलाई विश्वासको मत दिन आग्रह गरे।
उनले केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदा प्रदेश सरकारमा समेत त्यसको प्रभाव पर्ने गरेको बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफ्नो दूरी धेरै नरहेको उल्लेख गर्दै उनले सहकार्यको सम्भावना कायमै रहेको संकेत गरे।
कार्कीले नेकपासँगको सहकार्य मन्त्री बनाउनका लागि मात्रै नभएको बताए। प्रदेश र स्थानीय सरकारसँग समन्वय नगरी संघीय सरकारले एकलौटी रूपमा काम गर्न नहुने उनको भनाइ थियो। उनले संघीय सरकारप्रति जनतामा वितृष्णा बढिरहेको दाबी गरे। एकपटक निर्वाचन हार्दैमा आफूहरू कमजोर नभएको बताउँदै आफू फेरि निर्वाचनमा उठ्ने संकेतसमेत गरे।

पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनप्रति टिप्पणी गर्दै उनले त्यस्ता गतिविधिले सकारात्मक परिवर्तनभन्दा क्षति बढी पुर्याएको बताए। ठूला व्यावसायिक घरानामाथि भइरहेको धरपकडले निजी क्षेत्र त्रसित बनेको र मुलुकको आर्थिक अवस्था कमजोर हुन सक्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कांग्रेस प्रतिपक्षमा रहेकाले प्राविधिक रूपमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताए। तर वर्तमान सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारे। थापाले संघीय सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाए। विराटनगरका अस्पताल बन्द गराइएको विषयमा प्रदेश सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले संघीय सरकारले निजी क्षेत्रलाई त्रसित बनाएको र जनतालाई आतङ्कित पारेर देश चलाउन खोजेको आरोपसमेत लगाए। प्रदेश सरकारले ल्याएको असन्तुलित बजेट परिमार्जन गरी सन्तुलित बनाउनुपर्ने कांग्रेसको अडान कायमै रहेको उनले बताए। सुशासन र समृद्धिको पक्षमा सरकारले गर्ने राम्रा काममा कांग्रेसको सधैँ साथ रहने बताउँदै उनले सरकारलाई पूर्ण कार्यकालका लागि शुभकामना दिए।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले र कांग्रेसबीच सत्तामा बेमेल देखिएपछि प्रदेश सरकार अस्थिर हुने अवस्था रोक्न आफ्नो दल सरकारमा सहभागी भएको बताए।
उनले संघीय सरकारले संविधान, लोकतान्त्रिक उपलब्धि र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै सबै लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने बताए। नयाँ आशा जगाउने, राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने र लोकतन्त्रको रक्षा गर्ने उद्देश्यले दुई दलबीच सत्ता सहकार्य भएको आङ्बोको भनाइ थियो। मुख्यमन्त्री कार्कीले तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु लज्जाको विषय भएको उनले बताए।