विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा मंगलबार आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई बलियो बनाउन सक्ने बताए।
उनले बीमा कम्पनीहरूले बीमितलाई सहज र सरल ढङ्गबाट बीमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरे। प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

आफ्नो नेतृत्वको प्रदेश सरकारले सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले व्यवसायीलाई आफ्नो पेसामा टिकाइराख्न बीमा कम्पनीको महत्वपूर्ण भूमिका रहने बताए।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारिता साहसिक र जोखिमपूर्ण पेसा भएकाले दुर्घटना बिमा कार्यक्रमबाट पत्रकार लाभान्वित हुने धारणा व्यक्त गरे। उनले एक हजार २०० पत्रकारको एक वर्षको दुर्घटना बिमाको खर्च प्रदेश सरकारले बेहोरेको जानकारी दिँदै महासङ्घले आवश्यकता महसुस गरे कार्यक्रमलाई निरन्तरता दिइने बताए।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, मोरङ शाखाका अध्यक्ष सुशीला पाठक, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका व्यवस्थापक निरञ्जन आचार्य तथा कम्पनीका कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले पत्रकारको हकहित र दुर्घटना बिमा कार्यक्रमको प्रभावकारिताका विषयमा धारणा राखेका थिए।
प्रदेश सरकारको आर्थिक सहयोगमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडले नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशमा आबद्ध पत्रकारका लागि एक वर्षको दुर्घटना बिमा गरेको हो।