काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीबारे चीनले नेपाललाई पूर्वसूचना दिएको थियो कि थिएन भन्ने प्रश्न श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारसमक्ष गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले विपद्का घटनामा पूर्वसूचनाको ठूलो महत्त्व हुने उल्लेख गर्दै चीनले नेपाललाई बाढीबारे जानकारी गराएको थियो कि थिएन भन्ने स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।

‘चीनबाट आएको कुरा आयो। चीनले हामीलाई यस्तो भइरहेको छ भन्ने जानकारी दियो कि दिएनरु’ उनले प्रश्न गरे। ‘चीनबाट सुरु भएर नेपाल हुँदै भारत जाने होला। भारतपछि मात्रै समुद्र पुग्ने हो। नेपालले भारतलाई जानकारी दियो कि दिएनरु सूचनाको आदानप्रदान ठूलो कुरा हो।’
राईले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति र उपकरणको पर्याप्त व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए। ‘विपद्सँग जुध्ने र विपद् व्यवस्थापनमा भूमिका खेल्ने जनशक्ति र उपकरण जोड्नुपर्छ,’ उनले भने, ‘घटनाले हामीलाई सिकाउँछ। हामी कसैले नसोचेको घटना घट्यो।’
उनले विपद्मा परेकाहरूको राहत, उद्धार र पुनःस्थापनाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।
खोजी तथा उद्धार कार्यमा खटिनेहरूलाई पनि आवश्यक सावधानी अपनाउन राईले आग्रह गरे। ‘हामी सबैको राष्ट्रिय एकताको खाँचो छ। यतिखेर सत्तापक्ष र प्रतिपक्ष भन्ने कुरा हुँदैन। हामी एउटै टिम हौँ,’ उनले भने।