काठमाडौँ । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकता प्रदर्शन गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र निर्माण गर्ने निर्णय गरेका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एक ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार बैठकमा सरकारका तर्फबाट भइरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक प्रयासबारे जानकारी गराइएको थियो। साथै, विभिन्न दलले प्राप्त गरेका सूचना सरकारलाई हस्तान्तरण गरेका थिए।
थापाले अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत रहेको बताए। यद्यपि, पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने देखिएकाले त्यसको निरन्तर अनुगमन, सरकारलाई सुझाव तथा राजनीतिक दलहरूको संयुक्त परिचालनका लागि संसदीय संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो। तर पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ।’
प्रस्तावित संयन्त्रमा संसद्मा प्रतिनिधित्व नभएका राजनीतिक दलहरूलाई समेत समेटिने थापाले जानकारी दिए। बैठकले विपद्पछिको राहत वितरण तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन संसद्मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव अघि सारेको हो।
सभापति थापाले विगतका विपद्, विशेषगरी जाजरकोट भूकम्पपछि केही समय बित्दै जाँदा प्राथमिकताहरू फेरिने र पीडितहरू अलपत्र पर्ने प्रवृत्ति देखिएको स्मरण गर्दै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सबै दलले निरन्तर खबरदारी र सहकार्य गर्नुपर्ने बताए।