क्विटो । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ । त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ ।
मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष संलग्न भएको ठहर गरिएको हो । उनकी श्रीमती र छोरीसहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । श्रीमती र छोरीलाई जनही ३० महिनाको जेल सजाय सुनाइएको छ ।

अदालतले दोषी ठहर गरिएका सबैलाई गैरकानुनी रूपमा प्राप्त रकमको तीन गुणा बराबर रकम ९० दिनभित्र फिर्ता गर्न आदेश दिएको छ । मोरेनो भ्रष्टाचार मुद्दामा जेल सजाय पाउने इक्वेडरका तेस्रो पूर्वराष्ट्रपति बनेका छन् । अभियोजकहरूका अनुसार सन् २००८ देखि २०१८ सम्म सञ्चालन भएको भ्रष्टाचार सञ्जालले चिनियाँ कम्पनी सिनोहाइड्रोले निर्माण गरेको परियोजनाको कूल मूल्यको चार प्रतिशत बराबर रकम घुसका रूपमा उठाएको थियो ।
उक्त रकम स्वदेश तथा विदेशमा भएका विभिन्न कारोबारमार्फत सरकारी अधिकारी र मोरेनोसहितका लाभग्राहीलाई वितरण गरिएको थियो । सिनोहाइड्रोले सन् २०१० मा करिब दुई अर्ब अमेरिकी डलरको कोका कोडो सिन्क्लेयर जलविद्युत् आयोजना निर्माण सुरु गरी २०१६ मा इक्वेडर सरकारलाई हस्तान्तरण गरेको थियो । संरचनागत कमजोरीका कारण उक्त आयोजना विवादमा परेको थियो ।
मोरेनो सन् २००७ मा कोरियाको नेतृत्वमा उपराष्ट्रपति बनेपछि राष्ट्रिय राजनीतिमा चर्चित भएका थिए। उनले २०१३ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । सन् २०१७ मा मोरेनोले कोरियासँग सम्बन्धित ‘कोरेइस्टा’ आन्दोलनका उम्मेदवारका रूपमा राष्ट्रपतिको निर्वाचन जितेका थिए । उनका उपराष्ट्रपति जर्ज ग्लासले पछि पदबाट राजीनामा दिएको थिए र हाल भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका छन् ।