Lite Nepal

शनिबार, भाद्र १३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले पार्टीको विधान र संविधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको बताएका छन्।

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन र त्यसको केही समयपछि हुने प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुदृढ बनाउन महाधिवेशन अनिवार्य रहेको उनले बताएका छन्।

‘कथित विशेष महाधिवेशनबाट स्वघोषित कार्यसमितिले गर्ने–गराउने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिमा सामेल नभई चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने महाधिवेशनको तयारीमा जुट्न सबै तहका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।

डा.कोइरालाले १५औँ महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। त्यसका लागि क्रियाशील सदस्यता व्यवस्थापन समिति, छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम पूर्वनिर्धारित कार्यतालिकाअनुसार अघि बढाइने उनले बताएका छन्।

विज्ञप्तिमा अदालतबाट न्याय पाउनेमा आफूहरू विश्वस्त रहेकोसमेत उल्लेख गरिएको छ। आवेग, उत्तेजना र षड्यन्त्रको राजनीति नगरी संयमता र धैर्यताका साथ अघि बढ्ने प्रतिबद्धता पनि कोइरालाले जनाएका छन्।

अदालतले महाधिवेशन रोक्न आदेश नदिएको अवस्थामा चौधौँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले नै १५औँ महाधिवेशन गराउने उनको जिकिर छ।

यस्तै, विज्ञप्तिमार्फत डा. कोइरालाले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बेपत्ताको खोजी, उद्धार तथा राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै मानवीय सेवामा जुट्न पार्टीका सबै तहका कार्यकर्तालाई आह्वान गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं