काठमाडौं । भारतले बाढीपहिरो प्रभावित नेपालका क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप ११ टन सामग्रीसहित प्राविधिक टोली पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार भारतीय वायुसेनाको सी–१३० विमानमार्फत राहत सामग्री, खोजी–उद्धार उपकरण र प्राविधिक टोली नेपाल आइपुगेको छ।

फरेन्सिक विशेषज्ञ, डीएनए विश्लेषणका उपकरण तथा ब्ल्याङ्केट, स्लिपिङ ब्याग, त्रिपाल र सरसफाइका सामग्री पनि ल्याइएको छ।
यस्तै, सडक तथा पुलमा भएको क्षति मर्मत गरी यातायात सुचारु गर्न २३० फिट लामो मोड्युलर स्टिल ब्रिजका उपकरण बोकेका १६ ट्रक नेपालतर्फ पठाइएको छ। थप सात बेली ब्रिजका उपकरण र प्राविधिक टोलीसमेत आउने जनाइएको छ।
भारतका अनुसार हालसम्म ६८।५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौं ल्याइसकिएको छ।