काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढी, पहिरो तथा डुबानपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले उक्त घोषणा गरेका हुन्।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीका तर्फबाट १०–१० लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो। सहयोग रकम ग्रहण गर्दै ओलीले विपद् व्यवस्थापनका लागि पार्टीले केन्द्रीय तहबाटै कोष परिचालन गर्ने र त्यसमा कम्तीमा १ करोड २० लाख रुपैयाँ संकलन गरिने बताए।
राहत वितरणको मोडालिटीबारे चर्चा गर्दै अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ गर्नुभन्दा पीडितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
‘सरकारको कोषमा रकम जम्मा गर्दा कहिलेकाहीँ त्यो खातामै थन्किने र पीडितले तत्काल पाउनुपर्ने पिउने पानीसमेत नपाउने अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो।’
राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन वास्तविक पीडितसम्म छिटो पुग्ने माध्यम पहिचान गरी पार्टीले सोहीअनुसार सहयोग परिचालन गर्ने ओलीले स्पष्ट पारे।
विपद्को यस घडीमा सबै पक्षलाई जिम्मेवार भएर राहत तथा उद्धार कार्यमा जुट्नसमेत उनले आग्रह गरे।