काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सेना परिचालनसँगै जनपरिचालन आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रचण्डले तीन तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनागरिकलाई विश्वासमा लिएर परिचालन नगरेसम्म बाढीबाट उत्पन्न समस्याको वास्तविक समाधान कठिन हुने बताए।

उनले आफूले सरकारका मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूलाई समेत पटक–पटक जनपरिचालनका लागि ध्यानाकर्षण गराएको दाबी गरे। ‘सेना परिचालन भयो, जनपरिचालन भएन,’ प्रचण्डले भने, ‘जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान असम्भवजस्तै हुन्छ भनेर पनि मैले भनेँ।’
महाविपत्तिको सामना गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयसँगै नागरिक समाज र आमजनतालाई समेत परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
‘सेना परिचालनसँगै जनपरिचालन जोडिएन भने, केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको समाधान कठिन हुन्छ भन्ने कुरा मैले पटक–पटक भनेको थिएँ,’ उनले भने।
प्रचण्डले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिकाको भने प्रशंसा गरे। उद्धार तथा राहतमा सेनाले जोखिम मोलेर काम गरेको भन्दै उनले धन्यवादसमेत दिए।
‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने–आउनेमा त देखियो। सेनाले गरेको काम पनि देखियो,’ उनले भने, ‘सेनाले धेरै जोखिम उठाएर उद्धारमा, राहतमा खेलेको भूमिका देखियो। उहाँहरूलाई हामी सबैले धन्यवाद नै भनेका छौँ।’