Lite Nepal

बुधबार, भाद्र १७, २०८३

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा वर्षेनी हुने बाढीपहिरोको विनाश रोक्न तथा प्रभावकारी विपद् व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै नेता थापाले हरेक वर्ष प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परा मात्र निर्वाह गरेर नहुने भन्दै यो नियति बदल्न दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले राज्यको प्रमुख नेतृत्वका रूपमा प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए । सरकार संसद्प्रति पूर्णतः उत्तरदायी हुनुपर्ने र आफ्ना योजना तथा कामकारबाहीबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।

विद्यमान संकटको सामना राष्ट्रिय सहमतिबाट मात्र सम्भव हुने उल्लेख गर्दै थापाले राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित बहुपक्षीय संयन्त्र निर्माण गर्न सरकारलाई सुझाव दिए । सामूहिक र संगठित प्रयासबाट मात्रै विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन गर्न सकिने उनले स्पष्ट पारे ।

थापाले सरकारको कामकारबाहीमा सहजीकरण र निगरानी गर्न सभामुखमार्फत विशेष संसदीय समिति गठन गर्नुपर्ने प्रस्तावसमेत अघि सारे । विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा, युद्धस्तरमा उद्धार तथा राहत कार्य सञ्चालनका लागि रक्षामन्त्रीको नेतृत्वमा र पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल ९टास्क फोर्स० गठन गर्नुपर्ने माग गरे ।

यसैगरी, जलवायु परिवर्तनबाट सिर्जित संकटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन तथा आवश्यक रणनीति तय गर्न सरकारले ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए । प्राकृतिक विपत्तिलाई नियति मानेर बस्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले विशेष योजना र तत्परता देखाउनुपर्ने नेता थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं