Lite Nepal

आइतबार, भाद्र २१, २०८३

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि जारी मुसलधारे वर्षाले यो पहिरो निम्त्याएको हो ।

पहिरोमा परेका दुई जनालाई जीवितै उद्धार गरिएको छ र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको छ । उद्धार कार्यका लागि शनिबार रातिसम्म ६४० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलमा खटिएका छन् । गाउँ जोड्ने सडक क्षतिग्रस्त भएका कारण अग्नि नियन्त्रक र उद्धार टोलीहरू पहाडको वैकल्पिक बाटो हुँदै शनिवार बिहान ११ बजे घटनास्थल पुगेका थिए। उद्धार कार्यमा लाइफ डिटेक्टर (जीवन पहिचान गर्ने उपकरण), ड्रोन र तालिमप्राप्त कुकुरहरूको प्रयोग गरिएको छ ।

हालसम्म ३९ जना गाउँलेहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै छिमेकी क्षेत्रका ५ हजार ३ सय भन्दा बढी बासिन्दाहरूलाई स्थानान्तरण गरिएको छ । अवरुद्ध सडक र विद्युत् सेवा पुन:सञ्चालनका लागि प्राविधिकहरू खटिएका छन् भने दूरसञ्चार सेवा सुचारु भइसकेको छ ।

यस विपद्का कारण जियाङ्सी प्रान्तका करिब १ लाख ६१ हजार ५ सय बासिन्दा प्रभावित भएका छन् । स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै जियाङ्सी प्रान्तीय समितिले शनिवार दिउँसो तेस्रो तहको आपत्कालीन प्रतिक्रिया जारी गरेको छ । यस्तै, चीनको प्राकृतिक स्रोत मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले पनि राष्ट्रिय स्तरको आपत्कालीन कार्य टोलीहरू घटनास्थलमा परिचालन गरेका छन् ।

चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले जियाङ्सीको उद्धार र राहत कार्यका लागि केन्द्रिय कोषबाट २० मिलियन युआन (करिव २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । यो रकम क्षतिग्रस्त सडक, खानेपानी, विद्यालय र अस्पताल जस्ता पूर्वाधारहरूको पुनर्निर्माणमा खर्च गरिनेछ ताकि प्रभावित क्षेत्रको जनजीवन छिट्टै सामान्य अवस्थामा फर्कन सकोस् ।

चीनमा चार–तहको आपत्कालीन प्रतिक्रिया प्रणाली रहेको छ, जसमा पहिलो तह सबैभन्दा गम्भीर मानिन्छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं