विराटनगर । तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा कोइरालासहित आठ जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको थियो। राति करिब ११ः३० बजे पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको थियो।

मंगलबार बिहान करिब ७ः३० बजे कोइराला अस्वस्थ भएपछि प्रहरीले तत्काल उपचारका लागि कोसी अस्पताल लगेको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो।
नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत घोषणा गरेको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
एसपी कटवालका अनुसार कोइराला मदिरा सेवन गर्ने तथा तास खेल्ने गरेको खुलेको छ। यसअघि उनी दुर्घटनामा परी घाइते भएको र उपचार गराएको जानकारीसमेत प्रहरीले दिएको छ।
उनले भने, ‘अचेत अवस्थामा थिएनन्, म अस्वास्थ्य भए भनेपछि हामीले उपचारका लागि कोसी अस्पताल लगेका हौँ, त्यहाँ बाट रेफर गरेर नोबेल पठाइयो । उहाँ पहिले नै मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनुभएको रहेछ । टाउकोमा चोट रहेछ । अहिले उपचारको क्रममा मृत्यु भएको हो ।’