विराटनगर । नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ।
विवादका कारण केही समय निर्वाचन प्रक्रिया प्रभावित भएको हो।

क्षेत्रीय सभापति पदमा मनोज साह र गफार अन्सारीबीच प्रतिस्पर्धा भइरहेका बेला मतदानस्थलमा फर्जी मतपत्र भेटिएको दाबीपछि विवाद सुरु भएको बताइएको छ।
वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूहरूले मतपत्रबारे प्रश्न उठाएपछि गफार अन्सारी पक्षका व्यक्तिहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्। झडपका क्रममा आफ्नो टाउकोमा चोट लागेको उनको भनाइ छ।
यता, गफार अन्सारी पक्षले भने ऐयुव अन्सारीले मतपेटिकामा लात्ती प्रहार गरेर निर्वाचन प्रक्रिया अवरुद्ध पार्न खोजेको आरोप लगाएको छ। दुवै पक्षले एकअर्कामाथि आरोप लगाएपछि केही समय मतदान प्रक्रिया रोकिएको थियो।
सुनसरी–४ मा यसपटक क्षेत्रीय नेतृत्वका लागि प्रतिस्पर्धा बढेको देखिन्छ। केही समयअघि गफार अन्सारीले क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका थिए। उनी हरिनगर गाउँपालिकाका अध्यक्षसमेत हुन्।
यसैबीच, क्षेत्रीय सभापति रहेका ऐयुव अन्सारीले पनि कांग्रेसको जिल्ला सभापतिका लागि आफ्नो दाबी प्रस्तुत गरिसकेका छन्। सुनसरी कांग्रेसको आगामी नेतृत्वलाई लिएर जिल्लाभित्र विभिन्न समूह सक्रिय भइरहेका बेला क्षेत्रीय अधिवेशनमा विवाद देखिएको हो।