काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि पुलको अवस्थाबारे प्राविधिक अध्ययन सुरु गरिएको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीका अनुसार झोलुङ्गे पुलका विज्ञ इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोलीले पुलस्थल पुगेर स्थलगत निरीक्षण तथा अध्ययन थालेको हो।

टोलीले पुलमा भएको क्षतिको अवस्था, पुनर्निर्माण तथा मर्मतका लागि आवश्यक प्राविधिक पक्षबारे विस्तृत अध्ययन गर्नेछ।

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै करिब ६ मिटर भागमा क्षति पुगेपछि पुलमा आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मुख्यमन्त्रीको टोली पनि स्थलगत निरीक्षणमा

भत्किएको पुलको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि दोधारा–चाँदनी पुग्ने भएको छ। मुख्यमन्त्रीसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीहरूको टोलीसमेत रहनेछ।
पुलको क्षतिपछि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले समेत पुनर्निर्माणका लागि समन्वय भइरहेको बताएका छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिएका छन्। निर्वाचन क्षेत्र नं. २ का सांसद दीपकराज बोहराले बाढीका कारण पुलको एउटा पिल्लर भत्किएको भन्दै सुरक्षाका दृष्टिले नागरिकलाई पुल आसपास नजान आग्रह गरेका छन्।
पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पनि पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचनाको यथाशीघ्र पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।
लेखकका अनुसार विसं २०५६ मा आफू कञ्चनपुरबाट निर्वाचित भएपछि महाकालीमा झोलुंगे पुल निर्माण गरी दोधारा–चाँदनीलाई जोड्ने प्रस्ताव गर्दा त्यसलाई असम्भव भन्दै आलोचना गरिएको थियो। पछि सरकारकै बजेट र नेपाली प्राविधिकको संलग्नतामा उक्त पुल निर्माण भएको उनले स्मरण गरेका छन्।
हाल पुलको पिल्लरमा क्षति पुगेपछि आवागमन बन्द रहेको अवस्थामा प्राविधिक अध्ययनपछि पुनर्निर्माण तथा मर्मतको आवश्यक प्रक्रिया अघि बढ्ने जनाइएको छ।