काठमाडौं । भुटानविरुद्धको पहिलो अभ्यास खेलमा क्यान–११ ले १३ रनको जित निकालेको छ ।
बिहीबार (असोज १५) क्यान–११ ले पोखरास्थित क्रिकेट मैदानमा प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११० रन मात्र जोड्न सक्यो ।

भुटानलाई सस्तैमा रोक्न विपीन शर्माले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दा एक मेडन ओभर फ्याँक्दै १५ रन खर्चिए । विपीन खत्री र युवराज खत्रीले समान दुई तथा दयानन्द मण्डलले एक विकेट लिए ।

भुटानका ओपनर नाम्गे थिन्लेले २९ रन बनाए । सोनाम चोपेल र थिन्ले जाम्तशोले समान १९ रन जोडे । राञ्जंग दोर्जीले १३ र आनन्द मोगंरले १० रन बनाए ।
त्यसअघि, टस जितेर ब्याटिङ थालेको क्यान–११ ले २० ओभरमा नौ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
क्यान–११ का निम्ति विपीन शर्माले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ३६ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । ओपनर अर्जुन कुमाल २५ रन बनाए ।
भुटानका थिन्ले जाम्तसो, गकुल घले र सोनाम येसेले समान दुई विकेट लिए । कर्मा दोर्जी र नाम्गे थिन्लेले पनि समान एक विकेट लिए ।
अब क्यान–११ ले शुक्रबार (असोज १६) भुटानसँग दोस्रो अभ्यास खेल खेल्नेछ । हाल पोखरा भ्रमणमा रहेको भुटानले त्यसअघि गण्डकी प्रदेशसँग दुई खेल खेल्दा दुवैमा हारेको थियो ।