काठमाडौं । भोटेकोसी बाढीको अध्ययनका लागि संयुक्त संसदीय विशेष समिति गठनको माग सत्तारुढ दलले अस्वीकार गरेपछि राष्ट्रियसभाले छुट्टै विशेष समिति गठन गरेको छ ।
संसदीय विशेष समितिमा संयुक्त प्रतिनिधित्वको प्रचलनलाई तोडिएपछि राष्ट्रियसभाले आफ्नो छुट्टै विशेष समिति गठन गरेको हो । राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको हो ।

पुस मसान्तसम्मको कार्यविधि तोकिएको विशेष समितिलाई प्रतिनिधिसभाले बनाएको विशेष समितिसँग आवश्यक समन्वयन गर्नसक्ने जिम्मेवारी पनि तोकिएको छ।

नौ सदस्यीय समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा,घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, तुलप्रसाद विश्वकर्मा छन् । समितिमा एक सदस्य पछि थप हुनेछ ।
राष्ट्रियसभाध्यक्ष नारायणप्रसाद दाहालले ०८३ साल भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि विशेष संसदीय समिति गठनको मागअनुसार नौ सदस्यीय समिति गठन भएको बताए ।
विपद्मा जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेहरूको उपचार, शव व्यवस्थापन, पुनर्स्थापना लगायतको समीक्षा र जलवायु न्यायको मार्गचित्र तयका लागि समितिले काम गर्नुपर्ने उनको भनाइ छ ।
विपद् सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा पुस मसान्तसम्म प्रतिवेदन पेस गर्ने जिम्मेवारी समितिको छ ।