काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले राष्ट्र र जनतालाई राजनीतिको केन्द्रमा राखेर कांग्रेस नयाँ चरणमा प्रवेश गर्ने बताए।
‘कांग्रेसलाई पुनर्जीवन दिन्छौँ, नेतृत्वमा पुस्तान्तरण गर्छौँ। नेपाली राजनीतिलाई नयाँ चरणमा लैजान्छौँ,’ उनले भने। महामन्त्री घिमिरेले मुलुकलाई सुस्पष्ट दिशा दिन महाधिवेशनबाट नयाँ नीति तथा कार्यक्रम अघि सारिने बताए। बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिअनुसार कांग्रेसलाई नयाँ ढंगले अघि बढाइने उनको भनाइ थियो।

उनले कांग्रेसले बीपी कोइरालाको सपना साकार पार्ने लक्ष्यसहित देश र जनतालाई समुन्नत, सुखी र समृद्ध बनाउने तथा राष्ट्रको प्रतिष्ठा बढाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘बीपी कोइरालाको सपना सार्थक बनाउनु छ। देश र जनतालाई समुन्नत, खुसी र समृद्ध बनाउन, राष्ट्रको प्रतिष्ठा बढाउन कांग्रेस चाहन्छ,’ उनले भने।