Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संस्थापक एवं संरक्षक रेशमलाल चौधरीले अहिलेको पुस्ताले पनि देश बनाउने पर्याप्त संकेत नदेखाएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै चौधरीले विगतमा कपाल फुलेका नेताहरूले देश बिगारेको आरोप लाग्ने गरे पनि अहिलेका युवा नेताहरूले समेत देश बनाउने स्पष्ट संकेत दिन नसकेको बताएका हुन्।

उनले कांग्रेस महामन्त्री गगन थापालाई सम्बोधन गर्दै आफू उनलाई विश्वास गर्ने व्यक्ति भएको बताए। ‘गगनजी, तपाईं आज संयोगले अगाडि हुनुहुन्छ। म त तपाईंलाई विश्वास गर्ने मान्छे हुँ। दुःख माने मान्नुस्, नमाने नमान्नुस्,’ उनले भने, ‘हिजो सबै कपाल फुलेर आफूलाई युवा हुँ भन्ने नेताहरूले देश बिगारे भन्ने गरिन्थ्यो। अहिले कैला जुँगा भएका, पूरै कपाल काला भएका नेताहरूले पनि देश बनाउने छनक देखाएका छैनन्।’

यद्यपि, आधा कपाल फुलेको रेशमलाल चौधरीले गगन थापासहितको पुस्ताले भने देश बनाउने विश्वास व्यक्त गरे। ‘अब आधाआधि कपाल फुलेको, गगनजीको जस्तो १०–२० वटा दाह्री फुलेको, ५०–६० वटा कपाल फुलेको यो पुस्ताका नेताले देश पक्कै बनाउँछ भन्ने विश्वास छ,’ उनले भने।

चौधरीले कांग्रेसले कमैया मुक्ति र नेपालको संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेले पनि थारू समुदायले अझै पूर्ण अधिकार पाउन नसकेको भन्दै प्रश्न उठाए। उनले कांग्रेसका शीर्ष नेताहरू उपस्थित मञ्चबाटै महामन्त्री गगन थापालाई प्रश्न गर्दै भने, ‘कमैया मुक्ति गर्ने पनि यही कांग्रेस हो, नेपालको संविधान बनाउने पनि यही कांग्रेस हो। संविधानमा सबैका अधिकार लेखिए, तर हामीले अधिकार कहिले पाउने?’

थारू समुदाय सत्ता र राज्यका निर्णायक तहमा कहिले पुग्ने भन्ने प्रश्नसमेत उनले उठाए। ‘सत्ताको कुर्सीमा थारू कहिले हुने?’ भन्दै चौधरीले गगन थापासँग जवाफ मागे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं