विराटनगर । इटहरीमा जारी सीप तथा रोजगार मेलाको अवसर स्थानीय तहसम्म विस्तार गर्न रोजगार मिलान कार्यक्रम सञ्चालन गरिएको छ।
यसअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको टोली र अरियन्ट कम्पनीका मानव संसाधन विभाग प्रमुख उदयपुरको बेलका नगरपालिका पुगेर स्थानीयलाई रोजगारीमा जोड्ने कार्यक्रम गरेका छन्।

‘सीप र रोजगारी : साझा जिम्मेवारी’ नारासहित आयोजित मेलामा सहभागी हुन ग्रामीण क्षेत्रका युवालाई सहजीकरणसमेत गरिएको छ।

सीप सिक्न तथा रोजगारीमा जोडिन इच्छुक देवानगञ्ज, बर्जु, इनरुवा र रंगेलीलगायत क्षेत्रका युवालाई इटहरीस्थित मेला स्थलसम्म आउन सहजीकरण गरिएको हो।
रोजगार मिलान कार्यक्रममार्फत कोशी प्रदेशका जिल्ला तथा स्थानीय तहसम्म रोजगारीका अवसर पुर्याउने उद्देश्य राखिएको छ।
बेलकामा गरिएको कार्यक्रम पनि स्थानीयस्तरमै पुगेर रोजगारी खोजिरहेका व्यक्तिलाई रोजगारदातासँग जोड्ने पहलअन्तर्गत सञ्चालन गरिएको हो।
मेलास्थलसम्म पहुँच बढाउन गरिएको सहजीकरणले ग्रामीण क्षेत्रका युवालाई सीप सिक्ने र रोजगारीका अवसर खोज्ने कार्यक्रममा सहभागी हुने बाटो उपलब्ध गराएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलको प्रांगणमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला सञ्चालन भइरहेको छ। मेला असोज २० गतेसम्म चल्नेछ।