Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएसँगै विभिन्न मुलुकका राजनीतिक दल तथा विदेशी नेताहरूले कांग्रेसलाई शुभकामना दिएका छन् । छिमेकी भारतदेखि युरोप र एसियाका विभिन्न राजनीतिक दल तथा अन्तर्राष्ट्रिय राजनीतिक संस्थाले महाधिवेशन सफलताको कामना गरेका हुन् ।

भारतका सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनले कांग्रेसको महाधिवेशनका लागि शुभकामना पठाएका छन् । भारतकै प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले पनि कांग्रेसको महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीले पनि नेपाली कांग्रेसको महाधिवेशनका अवसरमा शुभकामना सन्देश पठाएको छ । स्पेनका प्रधानमन्त्री तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष पेड्रो सान्चेजले पनि महाधिवेशनको सफलताको कामना गरेका छन् ।

कांग्रेसको महाधिवेशनलाई एसिया र युरोपका अन्य राजनीतिक दल तथा संस्थाबाट समेत शुभकामना प्राप्त भएको कांग्रेसले जनाएको छ । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टीज (आईक्याप) को स्ट्यान्डिङ कमिटीले पनि कांग्रेसलाई शुभकामना दिएको छ ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले समेत कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका छन् । बेलायतको लेबर पार्टीले पनि नेपाली कांग्रेसको महाधिवेशनप्रति शुभेच्छा व्यक्त गरेको छ ।

विदेशी राजनीतिक दल तथा नेताहरूबाट प्राप्त शुभकामनालाई कांग्रेसले अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र सहकार्यको निरन्तरताका रूपमा लिएको छ । महाधिवेशनमा कांग्रेसको भावी नीति, नेतृत्व र संगठनका विषयमा छलफल हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित कांग्रेसले आइतबारदेखि १५औँ महाधिवेशन सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं