काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि दीर्घकालीन योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उद्घाटन सत्रलाई सम्बोधन गर्दै भट्टराईले नेपाललाई आगामी २० वर्षभित्र ग्लोबल साउथबाट ग्लोबल नर्थतर्फ लैजाने स्पष्ट योजना बनाउनुपर्ने बताएका हुन् ।

उनले मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले आफ्नै जीवनकालमा उल्लेख्य आर्थिक तथा सामाजिक प्रगति हासिल गरेको उदाहरण दिँदै नेपालले पनि त्यस्तै लक्ष्य निर्धारण गर्नुपर्ने बताए ।

‘अहिले पनि समय छ, सबैले सोचौँ । अरू देश कसरी विकास भए रु हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने रु’ उनले भने ।
उनले देश विकासका लागि साझा राष्ट्रिय योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखे ।‘त्यसको एउटा योजना बनाऔँ । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ । त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने ।
त्यस्तै, उनले देशमा राजनीतिक स्थिरता कायम गर्न नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने बताए । ‘अब पाठ सिकौँ । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने ।