बिर्तामोड । झापाको बिर्तामोडमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो नजिकका अन्य दुई व्यवसायमा समेत फैलिएपछि नेपाली सेनासहित सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।
बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोकस्थित हर्कदेवी फर्निचर उद्योगमा बुधबार बिहान करिब ११ बजे आगलागी भएको हो।

प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट सर्किटका कारण उद्योगमा आगो लागेको थियो।

हर्कदेवी फर्निचर उद्योगबाट फैलिएको आगो नजिकै रहेका जय माता ट्रेडर्स र वेलकम एण्ड फर्निचरमा समेत पुगेको थियो।
आगलागीको जानकारीपछि नेपाली सेनाको अरिदमन गणबाट टोली परिचालन गरिएको थियो।
सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग समन्वय गरी नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।