काठमाडौं । रोहित पौडेलको शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक १०१ रन बनाए । उनले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन जोडे । अर्जुन कुमालले २३ रनको योगदान दिए ।

क्यानडाका लागि अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्दर सिंहले ३ र जहिर शिर्जादले २ विकेट हात पारे । लिग–२ को अन्तिम शृङ्खला खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल महत्त्वपूर्ण छ । शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो ।

ओमानसँग क्यानडा पराजित भएपछि नेपालको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ । अब नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु हुनेछ । लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंक जोड्दै सातौं स्थानमा छ । यस्तै, क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौं स्थानमा रहेको छ ।