काठमाडौं । नेपाली सेनाले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट ४९ जनाको उद्धार गरेको छ । उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको नेपाली सेनाले आइतबार दिउँसो जारी विज्ञप्तिमा उल्लेख छ ।
“असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित चार हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजद्वारा प्रभावित विभिन्न क्षेत्रहरूबाट हालसम्म जम्मा ४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ,” विज्ञप्तिमा भनिएको छ ।
जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म चार जना (शिशु–१ सहित), यारुबाट हुल्चुकसम्म १५ जना (बालक–२ र विदेशी नागरिक–१ सहित), हुल्चुकबाट फिलिमसम्म १ जना, नाम्रुङबाट फिलिमसम्म २ जना, न्याक्फेदीबाट न्याकडाँडासम्म ९ जना र पायुबाट सल्लेरी (नयाँबस्ती) सम्म १२ जनालाई उद्धार गरिएको हो ।

