Lite Nepal

बुधबार, आश्विन २८, २०८३

भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ ।

दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो ।

घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ ।

पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ ।

नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका-६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताए ।

पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उनी सम्झन्छन् । अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उनले बताए ।

“पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपर्थ्यो”, उनले भने, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ । त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।”

समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ ।

पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ ।

कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताए । पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं