खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिनै विभिन्न सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कार्यालयले सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले इमेल वा ह्वाट्सएपमार्फत आवश्यक कागजात पठाएर सेवा लिन सकिने व्यवस्था गरेको हो ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङका अनुसार सेवाग्राहीले आफैँ वा नजिकैको वडा कार्यालयको सहयोगमा आवश्यक कागजात प्रशासनको इमेल वा ह्वाट्सएपमा पठाएर सेवा लिन सक्नेछन् ।

‘प्रशासनमा भौतिक रूपमा उपस्थित हुँदा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ । झन्झटिलो सेवा प्रवाहलाई अन्त्य गर्दै छिटो, छरितो र प्रविधिमैत्री बनाउने योजनामा छौँ,’ उनले भने, ‘पहिलो चरणमा चार प्रकारका सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउन थालिएको छ । आगामी दिनमा यो सेवालाई थप विस्तार गर्ने योजना छ ।’

कार्यालयका अनुसार दलित, जनजाति तथा खस आर्य प्रमाणित र थर प्रमाणितको सिफारिस लिन सम्बन्धित वडा कार्यालयको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
त्यस्तै, परम्परागत रूपमा सञ्चालन हुँदै आएका धार्मिक तथा सांस्कृतिक पर्व, जात्रा, उत्सव र मेला सञ्चालनको अनुमति लिन सम्बन्धित वडा वा स्थानीय तहको सिफारिससहित निवेदन वा पत्र पेस गर्नुपर्ने प्रशासनले जनाएको छ ।
गत भदौ २५ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियानसमेत सुरु गरेका छन् । नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले जिल्लाव्यापी अभियान अघि बढाइएको हो ।
अभियानमार्फत नागरिकका समस्या, गुनासा र सुझाव सम्बन्धित निकायसम्म पुर्याउनुका साथै प्रशासन र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गरिने गुरुङले बताए ।
‘सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न नागरिक संवाद कार्यक्रम महत्त्वपूर्ण हुन्छ । नागरिकले भोगिरहेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ तथा स्थानीयस्तरमा समाधान गर्नुपर्ने विषयमा प्रत्यक्ष छलफल गरिन्छ,’ उनले भने, ‘यस अभियानले प्रशासनप्रतिको नागरिकको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’
यसैबीच, लागूऔषध दुरुपयोग नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान अघि बढाएका छन् । प्रमुख जिल्ला अधिकारी गुरुङको नेतृत्वमा ‘नागरिक संवाद, लागूऔषध नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ सञ्चालन भइरहेको छ ।
लागूऔषध दुरुपयोग परिवार, समाज र व्यक्तिका लागि चुनौती बन्दै गएकाले कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि, रोकथामका उपायको प्रचारप्रसार र समुदायको सक्रियता आवश्यक रहेको गुरुङले बताए । संयुक्त अभियानमार्फत समुदायमा शान्तिसुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्ने लक्ष्य राखिएको छ ।