विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को २४औँ बैठकले प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै यस प्रक्रियामा योगदान पुर्याउने सरोकारवालालाई धन्यवाद ज्ञापन गरेको छ।
बिहीबार बसेको बैठकका निर्णयबारे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिएका हुन्। मन्त्री शेर्पाका अनुसार प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक पारित गर्न सहयोग पुर्याउने सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल, विषयगत समिति तथा प्रदेशसभा सचिवालयका कर्मचारीप्रति मन्त्रिपरिषद्ले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशभित्रका थान संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकाससम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ। यस निर्णयले प्रदेशमा रहेका रैथाने तथा परम्परागत धार्मिक एवं सांस्कृतिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क महासन्धिअन्तर्गत आयोजना हुने ‘कोप–३१’ सम्मेलनमा कोशी प्रदेश सरकारका तर्फबाट सहभागी हुन पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ।
बैठकले कोशी प्रदेशमा हालै सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन भव्य र सफल भएको निष्कर्ष निकाल्दै सम्मेलनमा सहभागी सातवटै प्रदेशका मुख्यमन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश योजना आयोगका सचिवलगायतलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।