Lite Nepal

आइतबार, कार्तिक ०२, २०८३

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौँ उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कने नागरिकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।

काठमाडौँका प्रमुख बहिर्गमन नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा घर फर्किने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार पछिल्ला केही दिनयता दैनिक रूपमा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या तीब्र गतिमा वृद्धि भइरहेको छ ।

दशैँ, तिहार तथा छठ पर्व मनाउनका लागि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बसोबास गर्दै आएका लाखौँ सर्वसाधारण गाउँ फर्कन थालेपछि मुख्य सडक खण्डहरूमा चहलपहल बढेको हो ।

विशेष गरी पूर्वतर्फ जाने सवारीसाधन र यात्रुहरूको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा केन्द्रित छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुहरूको भीड कलंकी, बल्खु र थानकोट नाकामा बाक्लो देखिएको छ ।

लामो तथा मध्यम दूरीका सवारीसाधनमा अग्रिम टिकट बुकिङ गरिसकेका नागरिकहरू समयमै गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् भने कतिपय यात्रुहरू तत्काल टिकट व्यवस्थापन गर्न काउन्टरहरूमा लामबद्ध छन् ।

दशैँको समयमा यात्रुहरू ठगिने, बढी भाडा असुलिने तथा दुर्घटनाको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरी र नेपाल प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) सञ्चालनमा ल्याएका छन् ।

ट्राफिक प्रहरीले निर्धारित भाडादरभन्दा बढी लिने सवारीसाधनमाथि कडा कारबाही गर्ने र सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सचेत गराएको जनाएको छ ।

सडक सञ्जालमा आएको पहिरो तथा खाल्डाखुल्डीका कारण केही राजमार्गहरूमा यात्रा असहज बने पनि नागरिकहरू हर्षोल्लासका साथ चाडपर्व मनाउन गाउँघरतर्फ जाने क्रम निरन्तर जारी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं