काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका छन्। पत्रकार पक्राउ परेको भोलिपल्ट शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील समयमा नागरिकलाई सही र समयमै सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।
उनले लेखेका छन्, ‘संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ। साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’

शुक्रबार प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर केही पत्रकारलाई पक्राउ गरेको थियो। पत्रकार पक्राउको घटनापछि चौतर्फी विरोध भएपछि साँझ उनीहरूलाई रिहा गरिएको थियो। यसअघि बिहीबार मात्रै प्रहरी प्रधान कार्यालयले प्रहरी नेतृत्व तथा सङ्गठनमाथि भ्रम फैलाउने गतिविधि भइरहेको दाबी गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको थियो।

केही दिनयता बिचौलिया भनिएका इनम सापकोटा र प्रहरी प्रमुख दानबहादुर कार्कीबीच सम्बन्ध रहेको दाबीसहितका समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका थिए। यही विषयसँग जोडेर प्रधानमन्त्रीको सचिवालयले आईजीपीको राजीनामा माग गरेको प्रसङ्गसमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।
त्यसपछि प्रहरी प्रधान कार्यालयले औपचारिक विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारको प्रतिवाद गरेको थियो। साथै, भ्रम फैलाउने गतिविधि भएको भन्दै कारबाहीको चेतावनीसमेत दिएको थियो।
यही पृष्ठभूमिमा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गरिरहेका विश्वमणि सुवेदीसहित तीन फरक सञ्चारमाध्यमका पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्य केही सञ्चारमाध्यमका पत्रकारलाई समेत नियन्त्रणमा लिने प्रयास भएको थियो।
संयोगवश, पक्राउ परेका तथा नियन्त्रणमा लिन खोजिएका पत्रकारहरूले नै आईजीपी कार्की र केही न्यायाधीशहरूको इनम सापकोटासँग कथित सम्बन्धबारे समाचार सार्वजनिक गरेका थिए।
