काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।
भारी वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि टस नै हुन नपाएर खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी ३ अंकसहित दोस्रो र समान ३ अंकसहित चितवन तेस्रोमा उक्लिएको छ ।

आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ ।
वर्षा रोकिएमा ५/५ ओभरको भए पनि खेल गराउने क्यानले जनाएको छ ।
एकमा हार र एकमा जित निकालेको सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुवै खेलमा पराजित भएको थियो ।
हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शीर्ष स्थानमा छ ।
एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।