काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। पक्राउ परेका पत्रकार रिहा भइसके पनि पक्राउको आदेश कसले दिएको हो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।
केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्ने व्यक्तिको पहिचान गरी सार्वजनिक गर्न सरकारले चासो नदेखाएको उल्लेख गर्दै शर्माले अहिले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

पत्रकार पक्राउ परेपछि प्रधानमन्त्री कार्यालयले उक्त गिरफ्तारीमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएकोप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्री कार्यालय संलग्न थियो वा थिएन भन्नेभन्दा पनि राज्यको चौथो अंगमाथि यस्तो व्यवहार हुँदा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको बताएका छन्।

सत्तारूढ दलले पत्रकार गिरफ्तारीलाई गैरकानुनी भन्दै समयमै आफ्नो धारणा सार्वजनिक गर्नु सकारात्मक भए पनि यस्ता गैरकानुनी गतिविधि निरन्तर दोहोरिनु चिन्ताजनक रहेको उनको भनाइ छ।
सत्तारूढ दलको चुनावी घोषणापत्रमा उल्लेख गरिएको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सरकारले समर्थनमा मात्र सीमित राख्ने हो कि त्यसको संरक्षण पनि गर्ने हो भन्ने प्रश्नसमेत शर्माले उठाएका छन्।
गिरफ्तारी गैरकानुनी थियो भनेर अभिव्यक्ति दिनु मात्रै सरकार बनाउने दलको दायित्व पूरा नहुने उनको तर्क छ। यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न सत्तारूढ दलको भूमिका प्रभावकारी हुनुपर्ने र सरकारले पनि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनले बताएका छन्।
शर्माले आफू स्वतन्त्र र मर्यादित प्रेसको पक्षमा रहेको स्पष्ट पार्दै गलत तथा भ्रमपूर्ण समाचारको खण्डन, नियन्त्रण र आवश्यक कारबाहीका लागि निश्चित कानुनी प्रक्रिया रहेको उल्लेख गरेका छन्। उनले त्यस्ता प्रक्रियाको अनुसरण गर्नुपर्नेमा जोड दिएका छन्।
संविधानप्रदत्त प्रेस स्वतन्त्रतालाई जोखिममा पार्ने गैरकानुनी गतिविधि तत्काल बन्द गर्न र पत्रकार पक्राउको वास्तविकता सार्वजनिक गर्न उनले सरकारसँग माग गरेका छन्।