विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा नेपाल भित्र्याई लुकाइछिपाइ राखिएका १२ लाख बराबरका सयपत्री फूलका तयारी माला बरामद गरेको छ। शनिवार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण मुख्यालय कालिनी, मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विराटनगर महानगरपालिका–४, गोग्राहास्थित राधाकृष्ण कोल्ड स्टोरको खाली चौरबाट उक्त माला बरामद गरेको हो।
भारतबाट अवैध रूपमा नेपाल ल्याई लुकाइछिपाइ राखिएका ती मालाको बजार मूल्य करिब १२ लाख रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका मालालाई सम्बन्धित प्लान्ट क्वारेन्टाइन कार्यालयका प्रतिनिधिको उपस्थितिमा प्रचलित कानुनी व्यवस्थाबमोजिम नष्ट गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।


