जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका–७, देवडिहाका ७ वर्षीय बालक साकेत झा मृत अवस्थामा फेला परेका छन्। दस दिनदेखि बेपत्ता रहेका बालकको शव घरबाट करिब अढाई किलोमिटर उत्तरतर्फको धानखेतमा फेला परेको हो।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार केही बेरअघि धानखेतमा बालकको शव फेला परेको हो। गत कात्तिक ४ गते दसैँको टीकाका दिन साकेत घरबाट निस्किएपछि बेपत्ता भएका थिए। उनी बेपत्ता भएदेखि परिवारजन तथा स्थानीयवासी चिन्तित थिए।

बालकको खोजीका लागि परिवारजन र प्रहरीले निरन्तर प्रयास गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएन। प्रहरीले नजिकका गाउँ, पोखरी, झाडी तथा आसपासका क्षेत्रमा समेत खोजतलास गरेको थियो।

शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको डीएसपी खनालले जानकारी दिए। बालकको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।