विराटनगर । मोरङ प्रशासनले रात्रिकालीन व्यवसाय सञ्चालनमा समयसीमा तोकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असन्तुष्टि जनाएका छन्। उनले पर्यटक तथा नागरिकलाई राति पनि सेवा र सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको भन्दै प्रशासनको निर्णयप्रति प्रश्न उठाएका हुन्।
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पर्यटन प्रवर्द्धन गर्ने हो भने पर्यटकको आवागमन र सेवामा समयको बन्देज लगाउन नहुने बताएका छन्।

नेपाल महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले पर्यटक बिहान, दिउँसो वा राति जुनसुकै समयमा पनि आउन–जान सक्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालन हुने तथा कतिपय घरेलु विमानस्थलमा समेत रातिसम्म उडान र अवतरण हुने उल्लेख गर्दै उनले पर्यटन र यातायातको गतिविधिलाई रात्रिकालीन सेवासँग जोडेर हेर्नुपर्ने धारणा राखेका छन्।

मुख्यमन्त्री कार्कीले विराटनगर विमानस्थलमा समेत राति अबेरसम्म उडान तथा अवतरण हुने गरेको र सडक यातायातमार्फत जुनसुकै समयमा यात्रु आउन सक्ने अवस्थालाई प्रशासनले ध्यान दिनुपर्ने बताएका छन्।
उनले भारतका सीमावर्ती सहरमा रहेका अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ८–९ बजे ओर्लिएका पर्यटक राति नेपालका सहरमा आइपुगे भने उनीहरूलाई के भन्ने भन्दै प्रश्न गरेका छन्। ‘तपाईंहरू हाम्रो देश वा सहर नआउनुस् भन्ने हो ? ’ भन्ने प्रश्न गर्दै उनले राति गन्तव्यमा आइपुग्ने यात्रुलाई पनि राज्यले सेवा र सुरक्षा दिनुपर्ने बताएका छन्।
उनका अनुसार राज्यको दायित्व दिउँसो मात्रै सुरक्षा दिने नभई नागरिक र पर्यटकलाई २४ घण्टै सुरक्षित वातावरण उपलब्ध गराउनु हो। राति आउने यात्रुलाई गाडीबाट नओर्लिनु भन्ने अवस्था सिर्जना गर्नु उपयुक्त नहुने उनको तर्क छ।
मुख्यमन्त्री कार्कीले स्थानीय प्रशासनले यस्ता निर्णय गर्दा स्थानीय र प्रदेश सरकारसँग पनि परामर्श गर्नुपर्ने सुझाव दिएका छन्। देशको प्रतिष्ठा, पर्यटन क्षेत्र र व्यवसायीलाई नकारात्मक असर पुग्ने गरी निर्णय गर्नुअघि पर्याप्त छलफल र विचार गर्नुपर्ने उनको भनाइ छ।
उनको यो धारणा जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालीन मनोरञ्जन व्यवसायका लागि नयाँ समयसीमा तोकेपछि आएको हो। प्रशासनको नयाँ व्यवस्थाअनुसार राति १० बजेपछि होटल, रेस्टुरेन्ट, क्लब, डिस्को तथा लाउन्ज बारमा नयाँ ग्राहक प्रवेश गर्न पाउने छैनन्। प्रवेश गरिसकेका ग्राहकसमेत राति साढे १० बजेसम्म बाहिरिसक्नुपर्नेछ।
रात्रिकालीन व्यवसायमा अनियमितता, विकृति तथा विसंगति बढेको गुनासोपछि सर्वपक्षीय छलफलमार्फत प्रशासनले तत्कालका लागि उक्त व्यवस्था लागू गरेको जनाएको छ। प्रशासनले समयसीमासँगै श्रमिकको अधिकार, ग्राहकको सुरक्षा, सीसीटीभी निगरानी, बालबालिकाको प्रवेश निषेध तथा मदिरा सेवन गरेका ग्राहकलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने व्यवस्थासमेत अनिवार्य गरेको छ।
मुख्यमन्त्री कार्कीले भने राज्यको काम जनता र पाहुनाको धनजनको सुरक्षा गर्नु भएको उल्लेख गर्दै यस जिम्मेवारीबाट सरकार कुनै पनि बहानामा उम्किन नमिल्ने बताएका छन्। प्रशासनको सुरक्षा र नियमनसम्बन्धी चासो तथा मुख्यमन्त्रीको पर्यटनमैत्री वातावरण र २४ घण्टे सुरक्षासम्बन्धी धारणाबीच देखिएको यो मतभेदले रात्रिकालीन व्यवसाय सञ्चालनको समयसीमा र राज्यको जिम्मेवारीबारे नयाँ बहस सिर्जना गरेको छ।
